आईतवार, २९ चैत्र, २०८२

ट्रम्पको कडा चेतावनी: 'आज राति एउटा पूरै सभ्यता समाप्त हुन सक्छ'

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २४ चैत्र, २०८२

ट्रम्पको कडा चेतावनी: 'आज राति एउटा पूरै सभ्यता समाप्त हुन सक्छ'

२०८२ चैत्र २२ एजेन्सी ।वाशिङ्टन डिसी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सीधा र गम्भीर चेतावनी दिँदै मंगलबार राति "एउटा पूरै सभ्यता समाप्त हुन सक्ने" बताएका छन्। वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समयसीमा (Deadline) तोक्दै ट्रम्पले इरानलाई सम्झौतामा आउन अन्तिम मौका दिएका थिए।

निर्धारित समय घर्किसक्दा पनि इरानका तर्फबाट कुनै आधिकारिक सहमतिको संकेत नआएपछि विश्व राजनीतिमा तनाव उत्कर्षमा पुगेको छ।राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल' मा शृंखलाबद्ध पोस्ट गर्दै इरानको भविष्यबारे गम्भीर टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्:"आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, र फेरि कहिल्यै फर्केर आउने छैन। म यस्तो होस् भन्ने चाहन्नँ, तर सम्भवतः त्यस्तै हुनेछ।"ट्रम्पले इरानमा हालको सत्ता परिवर्तन हुनुपर्ने आशय व्यक्त गर्दै अबको समय "क्रान्तिकारी" हुन सक्ने बताएका छन्।

उनले थपेका छन्, "अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भएपछि जहाँ फरक,अझ बुद्धिमान र कम कट्टर विचार भएका मानिसहरू अघि बढ्छन्, सायद केही अद्भुत हुन सक्छ।"इरानको वर्तमान राजनीतिक व्यवस्थातर्फ संकेत गर्दै ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा महत्त्वपूर्ण क्षणमध्ये एक बताएका छन्। उनले लेखेका छन्, "४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। इरानका महान जनतालाई भगवानको आशीर्वाद रहोस्!"

ट्रम्पको यो बयानले मध्यपूर्वमा मात्र नभई विश्वभर युद्धको त्रास फैलाएको छ। ट्रम्पले "हामी आज राति थाहा पाउनेछौं" भनेर उल्लेख गरेपछि अन्तर्राष्ट्रिय समुदायले यसलाई सम्भावित सैन्य आक्रमण वा ठूलो रणनीतिक कदमको रूपमा हेरेका छन्।

यद्यपि, ह्वाइट हाउस वा पेन्टागनले यस विषयमा थप सैन्य विवरण भने सार्वजनिक गरिसकेका छैनन्। इरानले पनि हालसम्म यस चेतावनीप्रति कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।

advertisement_1676998982.gif