राष्ट्रिय सन्देश संबाददाता, ५ घण्टा पहिले
२०८३ बैशाख ०४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आजदेखि सेवा ग्राहीले ट्रायल पास गरेपछि राजश्व तिरेको २४ घण्टाभित्र गाडी चालक अनुमतिपत्र पाउने बताए ।
काभ्रेको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको अवलोकन गर्दै मन्त्री तिमिल्सिनाले यसबारे जानकारी दिए । उनले गाडी चालक अनुमतिपत्र छपाइको अवस्थाबारे पनि जानकारी लिए । निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले सार्वजनिक सेवा प्रवाहलाई छिटो, प्रभावकारी र नागरिकमैत्री बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ’, तिमिल्सिनाले भने । विगतमा आवश्यक इच्छाशक्ति र व्यवस्थापन अभावका कारण काम ढिला भएको भन्दै उनले समस्या समाधान गर्दै अघि बढ्ने बताएका छन् ।
केन्द्रमा करिब एक अर्ब रूपैयाँ बराबरका उपकरण प्रयोगविहीन हुनु दुःखद रहेको भन्दै अब त्यसको प्रभावकारी उपयोग गरिने उनले बताए । नागरिकको डाटा सुरक्षालाई प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा दिन सञ्चारमन्त्रीले निर्देशन दिएका छन् ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउने उद्देश्यले व्यावसायिक योजना तयार भइरहेको बताए । उनका अनुसार भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट तथा अन्तःशुल्क स्टिकरजस्ता महत्त्वपूर्ण सामग्री छाप्ने योजना छ ।
हाल केन्द्रमा दैनिक करिब ४० हजार गाडी चालक अनुमतिपत्र छपाइ भइरहेको र विदेश जाने नागरिकका लागि गाडी चालक अनुमतिपत्रलाई प्राथमिकतामा राखिएको उहाँले जानकारी दिए ।
यातायात व्यवस्था विभागबाट दैनिक झण्डै एक हजार आवेदन प्राप्त हुने र वैशाख १२ गतेभित्र १२ लाख तथा बाँकी १७ लाख गाडी चालक अनुमतिपत्र असार मसान्तभित्र छापिसक्ने लक्ष्य रहेको पनि उहाँले बताए ।