आईतवार, १० कार्तिक, २०८२

ओली गिरिबन्धु प्रकरणमा जोगिन रविलाई सहकारीमा साथ दिँदैछन् : विश्वप्रकाश शर्मा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १३ जेष्ठ, २०८१

ओली गिरिबन्धु प्रकरणमा जोगिन रविलाई सहकारीमा साथ दिँदैछन् : विश्वप्रकाश शर्मा

काठमाडौँ, जेठ १३ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा साथ दिएर गिरिबन्धुमा साथ लिन लागि परेको आरोप लगाएका छन्।

कांग्रेसले आइतबार राजधानीमा सरकार विरुद्ध गरेको प्रदर्शनपछि आयोजित सभामा बोल्दै कांग्रेस नेता शर्माले गिरिबन्धुमा साथ लिनकै लागि संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम जोड्न नहुने अडानमा एमाले अध्यक्ष ओली रहेको बताए।

गृहमन्त्रीलाई देखाएर पार्टी पङ्तिलाई जोगाउने ओलीको आसय रहेको शर्माको आरोप छ । ‘ओलीलाई जोगाउनुपर्ने पार्टी पङ्ति छ। रविलाई साथ दिएर गिरीबन्धुमा साथ लिनु छ’, शर्माले भने, ‘झापाका केपी ओलीलाई झापाका विश्वप्रकाशले जति बुझ्न भक्तपुरका रवि लामिछानेलाई समय लाग्छ।’

अध्यक्ष ओलीको अडानलाई लिएर एमाले भित्र गम्भीर समीक्षा हुनुपर्ने समय भइसकेको पनि उनले बताए। ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ ?’, शर्माले प्रश्न गरे ।

गृहमन्त्री रवि लामिछानेले संसद्‌मा सम्बोधन गर्दा उठाएका सवालबारे सबैमा छानबिन गर्न कांग्रेस तयार रहेको भन्दै शर्माले अधिकारसम्पन्न आयोग बनाउन प्रधानमन्त्री र गृहमन्त्रीलाई चुनौती दिए ।

advertisement_1676551646.gif