राष्ट्रिय सन्देश संबाददाता, ४ घण्टा पहिले
२०८३ साउन २६ ,काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । नेपाल क्रिकेट संघले रोहित पौडेलले हटाएर लामिछानेलाई नेपाली एकदिवसीय (ओडीआई) टोलीको कप्तान नियुक्त गरेको हो। मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि क्यानले सोमबार लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको छ ।
यससँगै सन्दीप करिब चार वर्षको अन्तरालपछि नेपाली टोलीको कप्तानीमा पुनरागमन गरेका छन्। यसअघि सन् २०२२ मा कप्तान रहेका उनीमाथि बलात्कारको मुद्दा लागेपछि क्यानले उनलाई पदबाट हटाएको थियो ।
आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन खस्कँदै गएपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय लिएको हो । पछिल्लो परिवर्तनसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवैको कप्तानी गुमाएका छन् । यसअघि क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तानमा नियुक्त गरिसकेको छ ।
नवनियुक्त कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोलीले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ। क्यानद्वारा घोषित मलेसिया भ्रमणका लागि नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन् ।
एसीसी प्रिमियर कप आउँदो भदौ १४ देखि २७ गतेसम्म मलेसियामा हुनेछ ।