बिहीबार, ९ जेष्ठ, २०८२

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २६ बैशाख, २०८१

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।

सुरक्षित कारोबार सम्बन्धी पहिलो संशोधन विधेयक–२०८० को प्रतिवेदन विधायन व्यवस्थापन समितिले पारित गर्दै विधेयक राष्ट्रिय सभामा पेस गर्ने भएको हो । समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभामा प्रस्तुत गर्ने जानकारी दिइन्।  

पहिलो पटक ०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो । तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत ४ चैतमा अर्थ मन्त्रालयमार्फत राष्ट्रियसभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराएको हो ।

ऐन कार्यान्यवनमा आएसँगै घरजग्गाबाहेक चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइनेछ। अचल सम्पत्तिबाहेकको जडित सम्पत्ति, उत्खननका लागि अनुमति प्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई विधेयकमा चल सम्पत्तिको परिभाषाभित्र राखिएको छ।

अब पशु, कृषि बाली तथा कृषिजन्य उत्पादन, उक्त उत्पादनबाट तयार पारिएको खाद्यवस्तु र उत्खनन्का लागि अनुमति लिइएको खनिज पदार्थसमेत धितो राखेर ऋण लिन सकिने छ । 

सभापति राईले सरलीकृत रूपमा कर्जा लिएर साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज होस् भन्ने उद्देश्यका साथ विधेयक आएको बताइन् ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif