राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २ बैशाख, २०८१
काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएको हो।
शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएकाे छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
चैत १५ गतेदेखि आवश्यक पाठ्यपुस्तक वितरण शुरु भएको र देशका धेरै ठाउँमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई विद्यालय भर्नाकै समयमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गरिएको छ ।