राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १६ बैशाख, २०८३
२०८३ बैशाख १६, काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । पार्टीको संसदीय अभ्यास र विधानको प्रयोग गर्दै प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पन्तलाई सो जिम्मेवारी दिएका हुन् ।
यसअघि यो महत्वपूर्ण जिम्मेवारीमा पार्टीका प्रभावशाली नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यरत थिए ।
सिटौलालाई जिम्मेवारीबाट मुक्त गर्दै पन्तलाई अघि सारिएपछि कांग्रेसभित्रको गुटगत समीकरण र आगामी राजनीतिक दिशालाई लिएर विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् ।
कांग्रेस विधानको व्यवस्था अनुसार प्रतिनिधि सभा दलको नेतालाई राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने विशेषाधिकार रहेको छ । सोही अधिकारको प्रयोग गर्दै सिटौलाको स्थानमा पन्तलाई ल्याइएको जानकारी कांग्रेस संसदीय दलको कार्यालयले दिएको छ ।