राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २७ फाल्गुन, २०८२
२०८२ फागुन २७, काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।
समानुपातिकतर्फ रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ भने नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ । त्यस्तै, नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मतसहित तेस्रो स्थानमा छ ।