राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ जेष्ठ, २०८३
२०८३ जेष्ठ १५, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ ।
सन् १९५३ मे २९ तारिखका दिन न्युजिल्यान्डका पर्वतारोही सर एडमण्ड हिलारी र नेपालका साहसी पर्वतारोही तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष मे २९ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरिन्छ ।
सगरमाथा नेपालका लागि केवल एउटा हिमाल मात्र नभएर राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको बलियो प्रतीकका रूपमा स्थापित छ । पर्यटन विभागको तथ्यांकअनुसार हालसम्म आठ हजारभन्दा बढी आरोहणका पारखीहरूले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
विश्वका कुल १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठ वटा नेपालमै अवस्थित छन्। सन् २०२१ मा नेपाल र चीनले संयुक्त रूपमा गरेको पुनः मापनअनुसार सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर कायम गरिएको छ ।
यस विशेष दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी विभिन्न संघसंस्था तथा स्थानीय तहहरूले हिमाली पर्यटनको प्रवर्द्धन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षणसँग सम्बन्धित विविध चेतनामूलक कार्यक्रमहरू आयोजना गरेका छन् ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तीव्र रूपमा हिउँ पग्लिने, हिमतालहरू फुट्ने जोखिम बढ्ने तथा अन्य वातावरणीय संकटहरू देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको एउटा मुख्य आधार मानिन्छ । प्रत्येक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक तथा पर्वतारोहीहरू सगरमाथा र अन्य हिमालहरू आरोहणका लागि नेपाल आउने गर्दछन्, जसले नेपाललाई विश्व पर्यटनको नक्सामा अद्वितीय पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ ।
यस अवसरमा नेपाल पर्वतारोहण सङ्घले हिमाली क्षेत्रको दिगो संरक्षण, स्वच्छता, सुरक्षित आरोहणको प्रत्याभूति र हिमाली भेगका स्थानीय समुदायको जीवनशैली जोगाउन सबै पक्षको साझा र एकीकृत प्रयास आवश्यक रहेको औंल्याएको छ ।