राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ३० असार, २०८३
२०८३ असार ३०, काठमाडौँ । नेपाल आयल निगमले बुधबारदेखि बजारमा पुनः साविककै पूर्ण तौल (१४.२ केजी) को भरी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।कोरोना महामारीका कारण आपूर्ति सहज बनाउन निगमले गत फागुन २९ गतेदेखि आधा सिलिन्डर अर्थात् ७.१ केजी मात्र ग्यास बिक्री गर्दै आएकोमा आपूर्ति व्यवस्था सामान्य भएसँगै पुनः पूरा सिलिन्डर नै बजारमा पठाउन लागिएको हो ।
निगमद्वारा जारी सूचना अनुसार अब उपभोक्ताले १४.२ केजीको पूर्ण सिलिन्डर ग्यास साबिककै पूर्ण मूल्य २ हजार ६० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।यद्यपि, बजारबाट ७.१ केजीका आधा सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन हुन अझै केही समय लाग्ने देखिएको छ ।
यस संक्रमणकालीन अवधिमा बजारमा आधा र पूरा दुवै प्रकारका सिलिन्डरहरू सँगसँगै बिक्री वितरण हुन सक्ने सम्भावना रहेकाले उपभोक्तालाई सोही अनुसार कारोबार गर्न निगमले जानकारी गराएको छ ।