सोमबार, १४ बैशाख, २०८३

ग्यास वितरणमा कडाइ: कुन बिक्रेतालाई कति ग्यास पठाइयो, दैनिक १० बजेभित्र विवरण बुझाउनुपर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० फाल्गुन, २०८२

ग्यास वितरणमा कडाइ: कुन बिक्रेतालाई कति ग्यास पठाइयो, दैनिक १० बजेभित्र विवरण बुझाउनुपर्ने

२०८२ फागुन ३०,काठमाडौँ । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीहरूलाई ग्यास बिक्री वितरणको विवरण दैनिक रूपमा सार्वजनिक गर्न कडा निर्देशन दिएको छ।बजारमा ग्यासको आपूर्ति प्रणालीलाई पारदर्शी बनाउन निगमले हरेक दिन बिहान १० बजेभित्र अघिल्लो दिनको विवरण बुझाउनुपर्ने व्यवस्था गरेको हो ।

निगमद्वारा जारी विज्ञप्ति अनुसार, ग्यास उद्योगहरूले कुन बिक्रेता (डिलर) लाई कति परिमाणमा ग्यास पठाइएको हो, त्यसको विस्तृत विवरण सार्वजनिक गर्नुपर्नेछ । विवरणमा बिक्रेताको नाम, ठेगाना र सम्पर्क नम्बरसमेत स्पष्ट खुलाई तोकिएको समयसीमा भित्रै निगमलाई जानकारी गराउनु पर्नेछ ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको आपूर्तिमा चुनौती थपिएपछि आन्तरिक बजारमा हुन सक्ने सम्भावित अभाव र कालोबजारी रोक्न निगमले यो कदम चालेको हो ।

उद्योगले बिहान १० बजेभित्र अघिल्लो दिनको बिक्री विवरण सार्वजनिक गर्नुपर्ने । उपभोक्ताको रेकर्ड: बिक्रेताले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको रेकर्ड (नाम, सम्पर्क नम्बर र परिमाण) सम्बन्धित उद्योगमार्फत निगमलाई पठाउनुपर्ने । आधा सिलिन्डरको बिक्री: उपभोक्ताको माग र सहजताका लागि निगमले हाल आधा सिलिन्डर (७.१ केजी) ग्यास मात्र बिक्री गर्ने निर्णय गरेको छ, जसको मूल्य ९ सय ५५ रुपैयाँ तोकिएको छ ।

यस अनिवार्य नियमले ग्यास वितरण प्रणालीमा पारदर्शिता ल्याउने र उपभोक्ताले कुन ठाउँमा ग्यास उपलब्ध छ भन्ने सहजै थाहा पाउन सक्नेछन्," निगमले भनेको छ । विवरण सार्वजनिक नगर्ने वा गलत तथ्याङ्क पेस गर्ने उद्योगी तथा बिक्रेतालाई कानुन बमोजिम कारबाही गरिने समेत निगमले चेतावनी दिएको छ ।

Download the PDF
advertisement_1680627706.gif