राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १७ जेष्ठ, २०८३
२०८३ जेष्ठ १७, काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-९ भीरखर्कका दुई सहोदर दाजुभाइले विश्वका सर्वोच्च शिखरहरूमध्ये सगरमाथा र लोत्सेको सफलतापूर्वक आरोहण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
पारिवारिक स्रोतका अनुसार जीवन तामाङले सन् २०२६ मे २५ तारिखका दिन बिहान २:४० बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । त्यसैगरी, उनका भाई शुभराज तामाङले पनि सन् २०२६ मे २७ तारिख बिहान ७:०० बजे विश्वको चौथो अग्लो हिमाल लोत्सेको सफल आरोहण गर्दै महत्त्वपूर्ण सफलता हासिल गरेका छन् ।
अत्यधिक प्रतिकूल मौसम, उच्च हिमाली जोखिम र अक्सिजनको चरम अभावका बिच पनि दृढ संकल्पका साथ यी दुवै दाजुभाईले छोटो समयको अन्तरालमा हासिल गरेको यो उपलब्धि पर्वतारोहण क्षेत्रमा निकै प्रशंसनीय मानिएको छ ।
८,८४८.८६ मिटर उचाइको सगरमाथा र ८,५१६ मिटर उचाइको लोत्से जस्ता चुनौतीपूर्ण हिमालहरूमा स्थानीय युवाहरूले विजय प्राप्त गरेसँगै खिजिदेम्बा गाउँपालिका र समग्र ओखलढुंगा जिल्लामा उत्सवको वातावरण बनेको छ । लामो तयारी, अब्बल शारीरिक क्षमता र मानसिक दृढताका बलमा प्राप्त भएको यो सफलतालाई स्थानीयवासीले गाउँ र जिल्लाकै ठुलो गौरवको रूपमा लिएका छन् ।
जीवन र शुभराजको यो साहसिक कदमले ओखलढुंगा जिल्लाको नाम विश्व पर्वतारोहण समुदायमा थप उचाइमा पुर्याउन सहयोग सिद्ध गर्ने विश्वास लिइएको छ ।
यो ऐतिहासिक सफलता केवल व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभएर यसले हिमाली पर्यटन, साहसिक खेलकुद र पर्वतारोहण क्षेत्रमा भविष्य खोजिरहेका नयाँ पुस्ताका युवाहरूलाई समेत ऊर्जा र ठुलो प्रेरणा प्रदान गर्ने अपेक्षा स्थानीय स्तरमा व्यक्त गरिएको छ ।