राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ जेष्ठ, २०८३
२०८३ जेष्ठ २२, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा हुन लागेको यो भ्रमण आइतबारसम्म जारी रहने परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति मार्फत जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी जयशंकरसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने तय भएको छ। भेटमा नेपाल र भारतबिचको व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका आपसी हितका विषयमा छलफल हुने मन्त्रालयले उल्लेख गरेको छ।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबिचको दीर्घकालीन र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा छ ।
भारत भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने तालिका छ ।