राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २९ जेष्ठ, २०८०
काठमाण्डौं- राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो हप्ता भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ ।
बोर्डले बार्षिक कार्यतालिका अनुसार ने एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा गरिरहेको जनाएको छ ।
अहिले ७७ ओटै जिल्लामा उत्तरपुस्तिका परीक्षा तथा समपरीक्षण धमाधम भइरहेको परीक्षा नियन्त्रक बिष्णु नारायण श्रेष्ठले जानकारी दिए । उनले प्राविधिकरुपमा कुनै समस्या नआएमा बार्षिक कार्यतालिकामा तोकिएको समयमा नै नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिए ।
उत्तरपुस्तिका परीक्षणका लागि मुलुकभर ५१ वटा तोकेको छ । ती केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरेपछि केन्द्रमा पठाउनुपर्ने नियम छ । सबै केन्द्रबाट उत्तरपुस्तिका प्राप्त भएपछि कम्प्युटरमा प्रविष्ट गराइ नतिजा पुनः परीक्षण गरी नतिजा सार्वजनिक गर्ने बोर्डको प्रावधान छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा कुल १२ हजार ८३ विद्यालयबाट ४ लाख ८५ हजार ३९६ (छात्रा २ लाख ४२ हजार ७१२ र छात्र २लाख ४२हजार ६७४) जनाले २ हजार ३७ परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।
कुल परीक्षार्थीहरुमध्ये प्राविधिक धार समेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थीहरु समेत उक्त परीक्षामा सहभागी भएका थिए ।