बिहीबार, ३ बैशाख, २०८३

मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२

मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा दिने आयोगको दाबी

२०८२ फागुन २०, काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिए । उहाँले प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सँगसँगै अगाडि बढ्ने बताए ।

त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उहाँको भनाइ छ । आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे ।

उनले भने, ‘हाम्रो पहाडी र हिमाली भूभागबाट मतपेटिका संकलन गर्न समय लाग्छ, तर हामी छिटोभन्दा छिटो संकलन गर्ने प्रयासमा छौँ । अधिकांश छिटो आउन नसक्ने ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्छौं ।’

विश्वका जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि निर्वाचनको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई आमन्त्रण गरी वस्तुस्थितिको जानकारी गराउने र आतिथ्यता प्रदान गर्ने सामान्य प्रक्रिया रहेको बताउनुभयो ।

advertisement_1676553908.gif