राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२
२०८२ फागुन २०, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ ।
आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
निर्वाचनलाई अन्तर्राष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको सन्दर्भमा पर्यवेक्षकहरूको जिज्ञासा मेटिने गरी आयोगले तथ्यसहित जानकारी गराएको उनको भनाइ छ । उनका अनुसार, विदेशी पर्यवेक्षकहरू मतदान कार्यदेखि मतगणनासम्मको पर्यवेक्षण गर्ने हुँदा शनिबारसम्म नेपालमै रहनेछन् । यस अवधिमा उनीहरू आयोगसँग समन्वय गरी तोकिएका मतदान केन्द्रहरूमा पुगेर मतदान प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने प्रवक्ता भट्टराईले बताए ।