राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १९ फाल्गुन, २०८२
२०८२ फागुन १९, रुपन्देही । फागुन २१ बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थलमा तय गरिएका ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।
सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको छ । निर्वाचनमा मतदाताहरूको सहजताको लागि २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी समेत खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।
सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल, केन्द्र र मतगणना स्थलमा आवश्यक तयारी तीव्र रूपमा अगाडि बढाएका हुन् ।
मंगलबार बिहानैदेखि नै मतदान स्थलहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरू पुगिसकेका छन् । रुपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका, सिल, छाप लगायतका आवश्यक सामग्री पठाउने काम भइरहेको छ ।