राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२
२०८२ फागुन २०, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन् ।
निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई अनुरोध गर्न चाहन्छौँ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्न चाहन्छौँ ।’
यसैगरी, निर्वाचन आयोगले रास्वपाका धनुषा–१ का उम्मेदवार किशोरी साहले आफ्नो यथार्थ विवरण सही नलेखेको कारणले उम्मेदवारी खारेज भएको जनाएको छ । साहले आफ्नो भएको ब्यहोरा लुकाएर लेखेको कारणले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारी खारेज गर्नुपरेको उनले बताए ।
उनले भने, ‘उनको विरुद्ध उजुरी पर्यो, त्यसपछि हामीले विभिन्न निकायसँग सोधपुछ गर्दा उहाँ कालोसूचीमा रहेको पायौँ । त्यस्ता व्यक्तिको उम्मेदवारी कायम राख्न ऐनले दिँदैन । उजुरीउपर छानबिन गरेपछि उहाँलाई सफाइको लागि समेत समय दिएका थियौँ। उहाँले आफू कालोसूचीमा नभएको प्रमाण पेस गर्न सक्नुभएन ।’
आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे । यस्तै, प्रतिनिधिसभाको चुनावमा मतपेटिका ढुवानी गर्दा परिवर्तन गर्नसक्ने अवस्था नरहेको आयोगले जनाएको छ । मतदान भइसकेपछि ढुवानी गर्ने बेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने बताएका हुन् ।
उनले भने, ‘धेरैले सेनाको हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका परिवर्तन हुन्छ कि भनेर सोधेका छन् । मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन ।’