राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२
२०८२ चैैैत्र ५, काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको जानकारी दिएका छन् ।
बिहीबार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम राष्ट्रपतिसमक्ष पेश गरिएको बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए ।
निर्वाचन सामग्री खरिदमा सरकारको स्वामित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनले बताए। पचास प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाटै खरिद गरिएको थियो ।
तेह्र प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो । निर्वाचन प्रयोजनका लागि आयोगबाट रु सात अर्ब ८१ करोड पाँच लाख ७६ हजार माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट रु छ अर्ब ७६ करोड ६६ लाख ९० हजारको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म रु तीन अर्ब ५४ करोड २८ लाख ७९६ खर्च भएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ ।