राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२
२०८२ फागुन २१, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदान भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अपडेटेड तथ्यांकअनुसार यस अवधिसम्म कुल ६२ लाख २० हजार ४२ मत खसेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बिहीबार दिउँसो २ बजेसम्म देशभर कुल ६२ लाख २० हजार ४२ मत खसेको छइ। यो कुल मतदाता सङ्ख्याको झन्डै ३३ प्रतिशत हो ।
बिहान ७ बजेदेखि नै देशभरका १० हजार ९६७ मतदान स्थलहरूमा मतदाताहरूको बाक्लो उपस्थिति देखिएको छ । केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।
देशभरका कूल १६५ निर्वाचन क्षेत्रमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये झन्डै एक तिहाइले दिउँसो दुई बजेसम्ममा आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
प्रदेशगत विवरणअनुसार उपत्यकामा करिब ४७ प्रतिशत मतदान भएको छ भने कोशीमा ३२ प्रतिशत, मधेशमा २८ प्रतिशत, बागमतीमा ३४ प्रतिशत, गण्डकीमा ३९ प्रतिशत, लुम्बिनीमा २९ प्रतिशत, कर्णालीमा ३६ प्रतिशत र सुदूरपश्चिममा ३३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
हालसम्म देशभर ३३ प्रतिशत मतदान सम्पन्न भएको आयोगले जनाएको छ । मतदान साँझसम्म जारी रहने भएकाले कुल मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ ।
निर्वाचन आयोगले मतदातालाई ढुक्कसँग मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गरेको छ ।