राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२
२०८२ फागुन २०, पर्सा । वीरगञ्जमा बम बनाउने सामान सहित गाडीमा सवार वीरगञ्जमा नेकपाका उम्मेदवार मनोज कुमार चौधरी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले बम बनाउने सामान बोकेर हिडेका उम्मेदवार सहित चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति पर्सागढी नगरपालिका–३ बड्निहार बजारस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले नियमित जाँचका क्रममा बड्निहारतर्फ जाँदै गरेको बा २० च १२५० नम्बरको गाडीमाथि शंका लागेपछि चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा गाडीको पछाडिको डिक्कीभित्र पहेँलो टेपले बेरेको चौपाटो आकारको टिनको बट्टाभित्र शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु बम रहेकाले फेला परेपछि गाडीमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।