बुधबार, २ बैशाख, २०८३

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

२०८२ चैैैत्र ५, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेश सभा सदस्य निर्वाचन एउटै चरणमा सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरेका छन् । प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रणाली सुधारका विभिन्न पक्षमा ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार आगामी करिब १३ देखि १४ महिनाभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्नेछ भने प्रदेशसभा निर्वाचन २०८४ सालको मंसिरमा तय गरिएको छ । यी दुवै निर्वाचनलाई एकै पटक सञ्चालन गर्न सकेमा प्रशासनिक तथा आर्थिक दृष्टिले खर्च घटाउन सकिने उनको भनाइ छ ।

तर हाल प्रचलित कानुनी व्यवस्था संयुक्त निर्वाचन सञ्चालन गर्न पर्याप्त नभएको उल्लेख गर्दै उनले विद्यमान निर्वाचनसम्बन्धी करिब एक दर्जन कानुनलाई समेटेर एउटै समग्र व्यवस्थापन ऐन आवश्यक रहेको बताए । आयोगले उक्त प्रयोजनका लागि विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी केही समयअघि सरकारसमक्ष पठाइसकेको जानकारी पनि उनले दिए ।

उक्त प्रस्ताव हाल गृह मन्त्रालयमा विचाराधीन रहेको र यस विषयमा संसद्ले छिटो निर्णय लिनुपर्नेमा भण्डारीले जोड दिए । उनका अनुसार निर्वाचन सम्पन्न हुनुभन्दा कम्तीमा एक वर्षअगावै आवश्यक कानुनी संरचना तयार नभए आचारसंहिता, कार्यविधि तथा अन्य व्यवस्थापनका तयारी प्रभावित हुने सम्भावना रहन्छ ।

उनले आगामी संसदीय अधिवेशनमै निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक पारित गरी आयोगलाई प्रभावकारी रूपमा निर्वाचन सञ्चालन गर्न सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याए । यदि समयमै आवश्यक कानुनी सुधार हुन नसके आगामी २०८४ सालको निर्वाचन पनि विद्यमान प्रक्रियामै सीमित हुन सक्ने उनको चेतावनी थियो ।

भण्डारीले वर्तमान अवस्थामा रहेका अलग-अलग निर्वाचन कानुनहरूलाई पुनर्संरचना गरी एउटै एकीकृत ऐनमार्फत समेट्न सकिएमा विदेशमा रहेका मतदाता, देशभित्रका मतदाता तथा सरोकारवालाहरूको माग सम्बोधन गर्न सहज हुने धारणा समेत व्यक्त गरे ।

advertisement_1680627706.gif