राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२
२०८२ फागुन २०, काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
मतदाता परिचयपत्रको सक्कलप्रति नभएमा नेपाली नागरिकता, नागरिकता नभएमा सवारी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभएमा राहदानी, राहदानी नभएमा राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गा धनी प्रमाण पुर्जाको सक्कलप्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । आयोगले तोकेका छ प्रकारका कागजातमध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उनले स्पष्ट पारे।
भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र छन् भने १४३ अस्थायी मतदानस्थल छन् । ती केन्द्रमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदान गर्ने आयोगले जनाएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ ।
मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र घर÷बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था भएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टाअघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने सम्बन्धमा उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई सिफारिस गरिएको सहायक प्रवक्ता न्यौपानेले बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि आयोगले ४१ संस्थालाई पर्यवेक्षण अनुमति प्रदान गरेको जनाएको छ । आयोगले अनुमतिप्राप्त संस्थाका करिब पाँच हजार पर्यवेक्षकका लागि परिचयपत्र जारी गरिसकेको जनाएको छ ।
मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ ।