राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २५ पुष, २०८०
काठमाडौं । मंगलबार पक्राउ परेका 'तपस्वी' राम बहादुर बम्जनको घरबाट ठूलो सङ्ख्यामा नेपाली तथा विदेशी रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ नेपाली रकम र बिभिन्न १७ देशका मुद्रा बरामद गरेको हो। विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको सीआईबीका एसएसपी दिनेश आचार्य जानकारी दिए ।
२०७६ सालमा सर्लाहीमा एक नाबालिका माथि बलात्कारको आरोपमा बम्जनको खोजी भइरहेकोमा मंगलबार अपरान्ह निजको निवास बुढानिलकण्ठबाट पक्राउ गरिएको आचार्यले जानकारी दिए ।
बाराको निजगढ नगरपालिका-१२ र हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टनगाउँबाट राम बहादुर बम्जन भन्ने ३४ वर्षीय राम लाल बम्जन पक्राउ गरिएको हो। निजबाट नेपाली रुपैयाँमा जम्मा तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ र बिभिन्न देशको नेपालीमा रुपैयाँमा हेर्दा तीस लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको छ। प्रहरीका अनुसार उनको घरबाट मोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड ५ थान बरामद गर्नुको साथै यस्तै महँगा गाडीहरू पनि बरामद भएका छन् ।
प्रहरी उपरिक्षक एवम प्रवक्ता नवराज अधिकारीले बम्जनको घरबाट बरामद गरिएका सामग्री र कागजात साथै विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरुका सम्बन्धमा खोजतलास भइरहेको जानकारी दिएका छन् ।
टनगाउँमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र त्यस क्रममा निज बस्दै आएको घरभित्र प्रवेशगरी पक्राउ गर्नेक्रममा घरको चौथो तलामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको जग्गामा हामफालेर भाग्ने क्रममा पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।
बम्जनको आश्रमबाट चार अनुयायी बेपत्ता भएको पनि उजुरी आएको उनले जानकारी दिए। बम्जनलाई सर्लाही पठाउने भएको उनले बताए । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको उनले जानकारी दिए ।
बम्जनविरुद्ध सर्लाहीकी २९ वर्षीया रिता बोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन्
बम्जनमाथि बाराका सुरेशकुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाड़ला बेपत्ता पारेको अभियोग पनि छ। सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।