राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ जेष्ठ, २०८२
२८ जेठ २०८२, कञ्चनपुर । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा संक्रमण पुष्टि भएको छ ।
निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक-एक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल-भारतमैत्री बसहरु लागि सञ्चालनमा छन् । परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन ।
त्रिनगर नाकामा कोरोना संक्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति थिए । यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् । विभागले २०० कीट पठाएसँगै प्रदेशमा अहिले ३७० कीट मात्रै उपलब्ध रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाकामा १०० कीट मंगलबार उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले मंगलबारदेखि नाकामा परीक्षण सुरु गरिएको बताए ।