गणेश ज्ञवाली, आईतवार, १२ श्रावण, २०८२
क.पुष्पलालको नेतृत्वमा वि.स.२००६ साल वैशाख १० गते कम्युनिष्ट पार्टीको स्थापना भएपछि विधिवतरmपमा नेपालमा कम्युनिष्ट आन्दोलन अघि बढ्यो । क.पुष्पलालले नेपाली समाजको वर्ग विश्लेषण गर्दै नेपाली समाज अर्धसामन्ती र अर्धऔपनिवेशिक रहेको ठहर गरी चिनियाँ मोडेलको नयाँ जनवादी क्रान्ति नै नेपाली समाजको मुक्तिको बाटो रहेको ठहर गरे । माक्र्सवाद, लेनिनवाद र माओविचारधाराको आलोकमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरm हल गरी नेपाली समाजलाई समाजवाद हुँदै साम्यवाद सम्म पुग्ने मार्गचित्र पेश गरे । उनले विश्व प्रसिद्ध कम्युनिष्ट पार्टीको घोषणापत्र लाई नेपाली भाषामा अनुवाद गरे । रूस र चीनमा जस्तै कम्युनिष्ट पार्टी संचालन गर्नको निम्ति ‘लेनिनवादी संगठनात्मक सिद्धान्त’ अर्थात् ‘जनवादी केन्द्रियता’ को विधिलाई अघि सारे ।
वि.सं २०१९ सालको तेश्रो महाधिवेशनसम्म नेपाल कम्युनिष्ट पार्टी अविभाजित नै रहयो । संस्थापक महासचिव भएपनि प्रथम,द्विुतीय र तृतीय महाधिवेशनमा क.पुष्पलाललाई महासचिव हुनवाट रोकियो । पार्टी दक्षीणपन्थी भड्काव तिर गई राजावादी रुझान हावी हुँदै आयो । पुष्पलालले अघि सारेको क्रन्तिकारी नयाँजनवादी बाटोलाई परित्याग गरी तेस्रो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र को ख्रुश्चेभी लाइनलाई कम्युनिष्ट पार्टीले अंगीकार गर्यो । पार्टीफुटको श्रृड्ढला शुरू भयो ।
क. पुष्पलालले वि.सं. २०२५ मा गोरखपुरमा तेस्रो सम्मेलन गरी फुटेको कम्युनिष्ट पार्टीलाई एकीकृत गर्न प्रयास शुरू गरे । उनले पञ्चाती व्यवस्था विरुद्ध संयुक्त जनआन्दोलनको नीति तय गरे । २०२८ सालको झापा विद्रोह ले गतिहीन भएको कम्युनिष्ट आन्दोलनमा अपूर्व उत्साह र ऊर्जाको संञ्चार गर्यो । मोहन विक्रम सिंह नेतृत्वमा ‘केन्द्रिय न्युक्लियस’ गठन भई कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एकीकरणको अर्को सिलसिला प्रारम्भ भयो र उनको नेतृत्वमा २०३१ सालमा नेकपाको चौथो महाधिवेशन धाराको शुरुवात भयो । झापा विद्रोहको धारले २०३५ सालमा देशभरि छरिएका अनेकौं कम्युनिस्ट समूहहरूलाई संगठित गर्दै नेकपा मालेको गठन गर्यो । पुष्पलाल,मोहनविक्रम र माले समूह सबैले कार्यनीतिक रुपमा केही फरक कुराहरू गरे पनि रणनैतिक रुपमा माक्र्सवाद, लेनिनवाद र माओविचार धारालाई मार्गदर्शक सिद्धान्त मानेर चिनियाँ क्रान्तिले देखाएको नौलो जनवादी कार्यक्रम लाई नै नेपाली क्रान्तिको कार्यक्रम मान्दथे । पुष्पलालको समूह कमजोर हुँदै गयो, मोहनविक्रमको चौथो महाधिवेशनको धार फुट्दै गयो र मालेको धार जुट्दै र शक्तिशाली हुँदै गयो । पञ्चायत काल भरिमा टुटफुट र विभाजन को बावजुद पनि कम्युनिस्ट आन्दोलन प्रति जनमत बढ्दै गयो । २०४६ को जनआन्दोलनमा वाममोर्चा र संयुक्त राष्ट्रिय जनआन्दोलनको रूपमा पञ्चायत फाल्नको निम्ति कम्युनिष्टहरुले योगदान गरे ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछि २०४८ सालको प्रथम आम निर्वाचन मा एमाले दोस्रो र नेकपा एकता केन्द्रको मातहतमा रहेकोसंयुक्त जनमोर्चा संसदमा तेस्रो शक्तिको रूपमा स्थापित भए । नेकपा एमालेका महासचिव क. मदन भण्डारीले पाँचौं महाधिवेशनमा जनताको बहुदलीय जनवादको नीति अघि सारे । सोभियतसंघ र पूर्र्वी युरोपमा कम्युनिस्ट व्यवस्थाको अन्त्य भएपछि रक्षात्मक रुपमा रहेको कम्युनिष्ट आन्दोलनलाई शान्तिपुर्ण संसदीय प्रतिस्पर्धा मार्फत लोकप्रीय बनाउने कार्य मदन भंण्डारीले गरे । प्रचण्डको नेतृत्वमा रहेको नेकपा (एकताकन्द्र)को विभाजन भै बनेको नेकपा (माओवादी) ले २०५२ फागुन १ देखि सर्वहारावर्गको राज्यसत्ता स्थापनाको उद्देश्य लिएर दीर्घकालीन जनयुद्धको सुरुवात गर्यो । यो जनयुद्ध १० वर्षसम्म चल्यो र सामन्ती राजतन्त्रको अन्त्यका निम्ति उथलपुथलकारी साबित भयो । माओवादी, एमाले, जनमोर्चा आदि कम्युनिस्ट घटकहरूको सहकार्यमा नेपाली कांग्रेस समेत मिलेर २०६२ ÷०६३ को जन आन्दोलन सफल भयो । संविधानसभाको निर्वाचन मार्फतनेपाली कम्युनिस्टहरूकै निर्णायक पहल कदमीमा नेपालमा २०६५ सालमा गणतन्त्रको स्थापना भयो र २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समाजवाद उन्मुख संविधान जारी भयो ।
वि.सं.२०५१ मा पहिलोपटक नेकपा एमालेको नेतृत्वमा अल्पमतको कम्युनिष्ठ सरकार बन्यो र संसदीय व्यवस्था भित्रै केही लोकप्रिय कामहरू गर्यो । त्यसपछि पटक पटक एमाले लगायत विभिन्न अन्य कम्युनिस्ट घटकहरू समावेश भएका सरकारहरू बने । २०६५ सालमा माओवादी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा एमाले सहितको सरकार बन्यो। कमी कमजोरीका बावजुद बुर्जुवा पार्टीको तुलनामा कम्युनिस्ट घटकहरू संलग्न सरकारले धेरै हदसम्म जनपक्षीय निर्णयहरू गरेको भेटिन्छ । २०७४ को निर्वाचनमा एमाले र माओवादी बीच चुनावी तालमेल र पछि पार्टी एकीकरण समेत भई नेकपा बन्दा देशमा नेकपाको दुई तिहाईको सरकार केपी ओलीको नेतृत्वमा गठन भयो जुन अन्ततः टिक्न सकेन ।
वर्तमान एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संघीय सरकार छ । माओवादी अध्यक्ष प्रचण्ड प्रमुख प्रतिपक्ष दलका नेता छन् । अन्य कम्युनिस्ट घटकहरूको पनि संसदमा उपस्थिति छ । ७५३ स्थानीय सरकारहरू मध्ये करिब ६० प्रतिशत स्थानमा विभिन्न कम्युनिस्ट घटकहरूले नेतृत्व गरिरहेका छन् । तर पनि नेपाली जनतामा व्यापक निराशा बढ्दो छ, किन ? संख्यात्मकरूपमा यति धेरै शक्तिशाली देखिएका कम्युनिस्ट घटकहरूले आज आएर किन नेपाली जनताका बीचमा आशाको सञ्चार गर्न सकिरहेका छैनन्? विषय सोचनीय छ ।
नेपालमा कम्युनिस्ट आन्दोलनले करिब आठ दशक पार गर्दैछ । यस बीचमा भएका शान्तिपूर्ण संसदीय र सशस्त्र सङ्घर्षको समष्टिमा नेपालमा पुँजीवादी जनवादी क्रान्ति मौलिक रूपमा सम्पन्न भएको छ । अबको यात्रा समाजवाद तर्फको हो । यो आठ दशकमा सामन्ती राजतन्त्र विरुद्धको संघर्षमा नेपाली कम्युनिस्ट आन्दोलनले आफूलाई श्रेष्ठ प्रमाणित गरेको छ । यस अवधिमा हजारौं कम्युनिस्ट कार्यकर्ताहरूले त्याग, परिश्रम, निष्ठा र बलिदानको कृतिमान खडा गरेका छन् ।
अबको समाजवादतर्फको यात्रामा मुख्य दुश्मन भनेको दलाल पुँजीवाद हो। दलाल पुँजीवाद साम्राज्यवादको प्रत्यक्ष संरक्षणमा हुर्किरहेको छ। यसले कम्युनिष्ट पार्टीका तल्लादेखि माथिल्ला कमिटीहरूमा समेत आश्रय लिने र हुर्किने काम गरेको छ । तसर्थ दलाल पुँजीवाद विरुद्धको संघर्ष त्यति सहज छैन । अबको निर्णायक लडाई दलाल पुँजीवाद विरुद्ध नलडी समाजवादतर्फको यात्रा अघि बढ्न सक्दैन । यही अस्पष्टताको बीचमा नेपालमा संख्यात्मक हिसाबले उर्वर देखिएको कम्युनिष्ट आन्दोलन पूर्र्वी युरोप, सोभियत संघ र पश्चिम बङ्गालमा जस्तै विसर्जन हुने खतरामा पनि छ । स्पष्ट वस्तुवादी र ठोस परिस्थितिको ठोस विश्लेषण गरी नीति तय गर्न सकेमा नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल पनि छँदैछ ।
आज नेपालमा जसरी कम्युनिस्ट पार्टीहरू चलेका छन् त्यही तरिकाले चल्ने हो भने भविष्य त्यति आशा लाग्दो होला भन्ने सकिन्न । यी पार्टीहरु कम्युनिस्ट नामधारी त छन् तर नेतृत्व, कार्यशैली ,संगठनात्मक पद्धति हेर्दा बढीमा वामपन्थी वा सामाजिक जनवादी चरित्रका सम्म छन् भन्न सकिन्छ । कम्युनिस्ट पार्टीले त साम्यवादी व्यवस्थासम्मको मार्गचित्र कोर्न सक्नुपर्छ । सोही तहको आचरण र पद्धतिको विकास गर्न सक्नुपर्छ। विचारधारा सही हुनु वा नहुनुले सबै कुराको फैसला गर्दछ । सही संगठनात्मक विधि पनि आवश्यक हुन जान्छ। कम्युनिस्ट पार्टीभित्र व्यक्तिवादी हावी भइरहेको छ जुन निकै खतरनाक छ कम्युनिस्ट पार्टी भित्र सामूहिकतावादी सोच प्रवल हुनु पर्दछ । पार्टीमा जनवादी केन्द्रीयताको पद्धति भताभुङ्ग छ ,आलोचना र आत्मालोचनाको परम्परा हराएको छ । यी कुराहरू अझ विकसित रूपमा लागू हुनुपर्दछ । कम्युनिस्ट पार्टीको नेतृत्व तहमा देखिने निजी सम्पत्तिप्रतिको मोहले कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्दछ । यसबारे प्रष्टता जरुरी छ । जति पनि सम्पत्ति कमाउने र पार्टीको केन्द्रीय नेतृत्वमा पनि रमाउने परिपाटी अन्त्य गरिनुपर्दछ ।
कार्यनीतिमा लचकता र रणनीतिमा दृढता अपनाउनु पर्दछ । विचार मिल्ने कम्युनिस्ट घटकहरू बीचमा कार्यकर्ताहरूको तल्ला कमिटीहरूदेखि नै छलफल चलाउँदै गएर एकीकरण गर्दै जानु उपयुक्त हुन्छ । विशेष गरेर माक्र्सवाद ,लेनिनवाद र माओविचारको वरिपरि रहेका घटकहरूको एउटा कम्युनिस्ट पार्टीबनाउने र माक्र्सवाद लेनिनवाद मान्ने तर माओ विचारलाई नस्वीकार्ने घटकहरू बीच एकीकरण गरी अर्र्काे कम्युनिष्ट पार्टीबनाउने र यी दुईथरी कम्युनिस्ट पार्टीहरू बीच कम्तीमा पनि दीर्घकालीन प्रकृतिको संयुक्त मोर्चा ,चुनावी मोर्चा बनाउँदै अघि बढेको कम्युनिस्ट आन्दोलनले परिणाम दिन सक्दछ । तत्कालीन रुपमा विश्व परिस्थितिको आकलन गर्दा सशस्त्र सङ्घर्षबाट कम्युनिस्टहरूले राज्य सत्ता कब्जा गर्न सक्ने परिस्थिति छैन । तसर्थ शान्तिपूर्णरूपले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै राज्य सत्तामा सहभागी हुने र बढीभन्दा बढी जनपक्षीय एवं समाजवादी चरित्रका काम गर्दै जाने नीति लिनु नै उपयुक्त हुन्छ । तर दीर्घकालीन रुपमा भने कम्युनिस्ट पार्टीले बल प्रयोगको सिद्धान्तलाई स्वीकार गर्नै पर्दछ । अन्ततः बल प्रयोगबिना नै समाजवाद साम्यवादसम्म पुगिन्छ भन्नु विज्ञान विपरीत कुरो हो ।
कम्युनिष्ट पार्टी सर्वहारा वर्गका नेताहरूको पार्टी हो। समाजवाद निर्माणको यात्रामा कम्युनिस्ट पार्र्टीले नेतृत्व प्रदान गर्दछ । तसर्थ यसका कार्यकर्ताको विचार र आचरणले सबै कुराको फैसला गर्दछ। कम्युनिस्ट पार्र्टीका नेता र कार्यकर्ताहरू माक्र्सवादी विचारले ओतप्रोत भएनन् भने पार्र्टी अपांग बन्दछ । यसर्थ पार्र्टीमा माक्र्सवादी स्कुलिङ अनिवार्य हुनु पनि अनिवार्य शर्त हो ।
नेपालमा अहिले तीन तहका सरकारहरू छन् । विशेषगरी कम्युनिस्ट पार्टीले जितेका स्थानीय सरकारहरूमा बढीभन्दा बढी समाजवादी अभ्यास गर्नु जरुरी छ । त्यहाँ सामूहिक उत्पादन प्रणाली, समाजवादी स्कुलको अभ्यास र कम्युनहरूको विकास गर्ने ठोस नीति बनाइनुपर्दछ । स्थानीय सत्ताहरूमा गरिने समाजवादी अभ्यासहरू नै दीर्घकालीन रुपमा नेपालमा समाजवाद निर्माणका भ्रुणहरू बन्न सक्दछन् । कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले जित्ने तर व्यवहारमा पुँजीवादी अभ्यासमा लिप्त रहने ,भ्रष्टाचार र कमिसनतन्त्रको जालोमा अल्झिरहने हो भने समाजवादी आन्दोलन अघि बढ्दैन । साम्राज्यवादको बाहिरी दमनले भन्दा बढी पार्टीभित्रकै आन्तरिक कमजोरीका कारणले नै कम्युनिस्ट आन्दोलन बिग्रने हो ।
नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य हामी कसरी साम्राज्यवादका नविन चुनौतीहरूलाई सामना गर्न सक्छाै भन्नेमा निर्भर छ । साम्राज्यवादका पर्खाल नतोडी उसैसित सम्झौता गरेर कम्युनिष्ट आन्दोलन अघि बढ्दैन र एक शताब्दी अघि साम्राज्यवाद सम्बन्धी लेनिनले गर्नुभएको विश्लेषण मूलतः सही नै भएपनि वर्तमान सन्दर्भमा कैयौँ नवीन विशेषताहरू पनि थपिएका छन् । बहुराष्ट्रिय कम्पनीहरूले गरिब राष्ट्रका स्रोतहरू कब्जा गरिरहेका छन् ऋणको जालो वृद्धि भइरहेको छ, सांस्कृतिक साम्राज्यवाद हावी छ, अथात र स्थानीय संस्कृतिमाथि अमेरिकी संस्कृति भाषा र जीवनशैली हावी भइरहेको छ। ट्विटर,फेसबुक आदि सामाजिक सञ्जालको प्रयोगमार्फत सूचना साम्राज्यवाद विस्तार भइरहेको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याले विकराल रूप लिएको छ । साम्राज्यवादले हतियार प्रविधिमा उच्चतम प्रविधिमा विकास गर्दै संसारभरि सैन्य सञ्जाल विस्तार गरिरहेको छ । साम्राज्यवादले देशका शासन सत्तामा आर्थिक राजनीतिक र कुटनीतिक दबाब मार्फत नियन्त्रण कायम गरिरहेको छ यी सबै विरुद्ध कसरी संघर्ष गर्ने? सो अनुसारको कार्यनीति,रणनीति तय गरिनुपर्दछ । जनताको विश्वास जित्न सक्ने, व्यापक जनतालाई गोल बन्द गर्न सक्ने ,आधुनिक सूचना प्रविधिमा पोख्त, उच्च कम्युनिस्ट नैतिकता र आदर्शले ओतप्रोत बलियो कम्युनिष्ट पार्टीको निर्माण नै कम्युनिष्ट आन्दोलनको उज्ज्वल भविष्यको आधार हो ।
अहिले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर नेपालमा भने कम्युनिस्ट आन्दोलनप्रति अपार जन समर्थन भएपनि अहिले निराशाको किनारतिर उन्मुख हुन खोज्दैछ । त्यसलाई समयमै ख्याल गरिएन भने कहिल्यै उठ्न नसक्ने गरी कम्युनिस्ट आन्दोलन धराशायी हुने तथ्यतर्फ वर्तमान कम्युनिस्ट घटकका नेतृत्वहरूले बेलैमा ध्यान दिनु जरुरी छ । कम्युनिस्ट नामधारी मात्र नबनाै । सच्चा कम्युनिस्ट बनौँ ,नेतृत्व र कार्यकर्ताको पङ्ति भ्रष्टाचार र व्यभिचारका दागबाट मुक्त बनौँ । जनताको विश्वासलाई दहरोसँग पकडौँ । नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य सुनौलो हुने सम्भावना नै बढी छ ।