राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २ श्रावण, २०८२
भूमिका:
नेपाल कृषि प्रधान देश हो। हाम्रो संस्कार, संस्कृतिमा खेतीपाती, मौसम, र जनजीवनका सन्दर्भहरू गहिरो गरी बसेका छन्। वर्षा याममा रोपाइँको बेला खेतको हिलोमा काम गर्दा लाग्ने रोगहरू — लुतो, खटिरा, पिलो, हैजा जस्ता छालाका र संक्रमणजन्य रोगहरूबाट बच्न स्थानीय जनसमुदायले आफ्नै पाराले समाधान खोज्ने गरेका थिए। त्यसैको एक परम्परा हो — लुते कटेरी पूजा। आजको सन्दर्भमा भने यस संस्कारको निरन्तरता संकटमा परेको देखिन्छ।
लुते कटेरी पूजाको परम्परा:
लुते कटेरी एक प्रकारको कटेरो अर्थात घर भनौ।जुन चार तिर किला गाडेर आँगनको तुलसीको मन्दिर नजिकै बनाउने गरिन्छ।त्यसलाई केराको पातले छाएर माथि माटो राखिन्छ।त्यही कटेरो वा कटेरीको छानामा अलिकति माटो राखी त्यसमा मास छर्ने र उपल्ब्ध स्थानीय फलफूल समेत राखेर खेतिपातीको काम गर्दा शरीरमा लुतो, खटिरा जस्ता छालाका रोगहरू नलागून् भनेर पूजा गरिन्छ ।पूजा सकेपछि स-साना दाउराका चिरा बनाएर आगो सल्काइन्छ र त्यसमा “मेरो लुतो खटिरा सबै लैजा पारिथोके ….”भनी अगुल्टो फालिन्छ। यो क्रियाकलाप केवल रोग निवारणको विश्वास नभई समाजिक एकता र सांस्कृतिक चेतनाको एउटा अभिन्न हिस्सा हो।
सहरिकरण र परम्पराको विस्थापन:
आजभोलि गाउँहरूमा पनि सहरिकरणको छायाँ परेको छ। आधुनिकता, औषधिको सहज पहुँच, घरघरमा पाइपबाट आउने पानी, सस्तो साबुन र लोसन, अनि रोगका आधुनिक उपचार पद्धतिहरूले गर्दा लुतो-खटिरा जस्ता रोगहरू पहिलेभन्दा कम लाग्ने भए। साथै, मानिसहरू खेतीपातीभन्दा रोजगारी, व्यापार वा विदेश पलायनतिर आकर्षित भइरहेका छन्। फलस्वरूप, खेतमा काम गर्ने कम छन्, हिलोमा काम गर्ने चलन हराउँदै छ, र त्योसँगै लुते कटेरी पूजा जस्ता परम्पराहरू पनि ओझेलमा पर्दै गएका छन्।
संस्कृतिको संकट र भावी पुस्ता:
कुनै पनि संस्कृति केवल परम्पराका लागि टिकाइन्न, त्यो मानिसको जीवनशैलीसँग जोडिएको हुनुपर्छ। आजको पुस्ताले लुते कटेरी पूजाको महत्त्व नबुझ्ने अवस्था छ। उनीहरूका लागि त्यो केवल “पुरानो चलन” हुन सक्छ। ठाउँको अभाव, सामूहिकता हराउनु, र व्यस्त जीवनशैलीले गर्दा यस्तो परम्परालाई निरन्तरता दिन सजिलो छैन। तर यस परम्पराको मूल भाव — प्राकृतिक जीवन, रोगबाट जोगिने प्रयास, र सामूहिक चेतना — अझैपनि सान्दर्भिक छ।
निष्कर्ष:
हाम्रो संस्कृति हाम्रो पहिचान हो। लुते कटेरी पूजा केवल रोगबाट जोगिने विश्वास मात्र होइन, त्यो सामूहिक संस्कार, श्रमशील जीवनशैली, र प्रकृतिप्रतिको श्रद्धाको प्रतीक हो। हामीले यसलाई जस्ताको त्यस्तै निरन्तरता दिन नसके पनि यसको मर्म र मूल्यलाई भावी पुस्तामा बुझाउने प्रयास गर्नुपर्छ। परम्पराको रूप बदलिन सक्छ, तर यसको आत्मा बचाइराख्नुपर्छ। त्यसैले, विद्यालयका पाठ्यक्रम, स्थानीय संग्रहालय, वा गाउँका चाडपर्वमा यस्तो संस्कारलाई ठाउँ दिएर भावी पुस्तामा यसको ज्ञान हस्तान्तरण गरिनु आवश्यक छ।