राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ बैशाख ११, काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ । काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ ।
काउन्सिलले केही सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पार्ने खालका मिथ्या सामग्री सम्प्रेषण गर्ने गरेको गुनासा पनि प्राप्त भएको जनाएको छ ।
त्यसैगरी, सामाजिक सञ्जालमा प्रमाणबिना सामग्री सेयर गर्ने, छोटा भिडियो (रिल) बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि बढ्दै गएको काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार बाँके, प्युठान, दाङ, अर्घाखाँची र कैलाली लगायत जिल्लामा सञ्चारकर्मीहरूले सरकारी कार्यालयमा अनुमति बिना प्रवेश गरी भिडियो खिच्ने, प्रश्न सोध्ने र पछि सूचना प्रसारण गरेको भन्दै बिल पेश गर्ने जस्ता गुनासा समेत आएका छन् ।
प्रेस काउन्सिलले यस्ता गतिविधि पत्रकारिताको पेसागत आचरणविपरीत भएको भन्दै तत्काल रोक्न आग्रह गरेको छ ।
काउन्सिलले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता पालना अनिवार्य रहेको स्पष्ट पारेको छ । साथै, गलत वा भ्रामक सामग्री प्रकाशित भएमा प्रभावित व्यक्ति वा संस्थाले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि जानकारी गराएको छ ।
काउन्सिलले मिथ्या सूचना, तथ्यहीन सामग्री, तथा सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र धम्कीपूर्ण गतिविधिप्रति कडा कारबाही गरिने चेतावनी दिएको छ ।
