बिहीबार, २८ जेष्ठ, २०८३

रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लामा नयाँ नेतृत्व चयन, को कहाँ?

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ जेष्ठ, २०८३

रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लामा नयाँ नेतृत्व चयन, को कहाँ?

२०८३ जेष्ठ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अन्तर्गतका आफ्ना संगठनात्मक संरचनाहरूलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनहरूलाई तीव्रता दिएको छ ।

यसै क्रममा बागमती प्रदेशका कुल १३ जिल्लामध्ये ९ वटा जिल्लामा अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने यो अभियान अन्तर्गत विभिन्न जिल्लाहरूमा उत्साहजनक रूपमा नेतृत्व चयन प्रक्रिया अगाडि बढेको झाले जानकारी दिए ।

सम्पन्न भएका ९ जिल्लाका अधिवेशनहरूबाट पार्टीले नयाँ जिल्ला सभापतिहरू प्राप्त गरेको छ। जसअनुसार संघीय राजधानी समेत रहेको काठमाडौं जिल्लाको सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् भने भक्तपुरमा रामेश्वर बस्नेतले नेतृत्वको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी, काभ्रेपलाञ्चोक जिल्ला सभापतिको रूपमा प्रबिन ढकाल चयन भएका छन् भने सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी र दोलखामा दिनेश बस्नेत जिल्ला सभापति पदमा निर्वाचित भएका छन् ।

यस्तै नुवाकोटको कमान रामेश्वर गजुरेलले सम्हाल्ने जिम्मेवारी पाउँदा, धादिङको सभापतिमा राजन अर्याल र मकवानपुर जिल्लाको सभापतिमा सन्जिव पाठक निर्वाचित भएका छन् ।

यसै संगठनात्मक अभियानकै निरन्तरता स्वरूप बाँकी रहेका जिल्लाहरूमध्ये चितवन, रसुवा र ललितपुरमा भने आज अधिवेशनका बाँकी प्रक्रिया र नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ । यी जिल्लाहरूमा पनि नयाँ कार्यसमिति चयनका लागि पार्टी कार्यकर्ता र प्रतिनिधिहरूमा विशेष उत्साह देखिएको छ ।

अर्कोतर्फ, सिन्धुपाल्चोक जिल्लामा भने हिजो नै अधिवेशनको औपचारिक सुरुवात गरिएको भए तापनि आन्तरिक तथा विविध प्राविधिक कारणहरू उत्पन्न भएपछि हालका लागि उक्त अधिवेशन स्थगित गरिएको छ ।

त्यहाँ स्थगित भएको अधिवेशनलाई अनुकूल समय मिलाएर छिट्टै पुन: सञ्चालन गरिने र नयाँ कार्यसमिति चयनको प्रक्रियालाई पूर्णता दिइने पार्टी स्रोतले जनाएको छ । बागमती प्रदेशका सबै जिल्लाहरूमा अधिवेशन सम्पन्न भएसँगै रास्वपाले प्रदेश तहमा आफ्नो सांगठनिक उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा लिएको छ ।

advertisement_1676551646.gif