राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ जेष्ठ, २०८३
२०८३ जेष्ठ १५, काठमाडौं । आज १९ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ ।
जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो ।
तत्कालीन नेकपा (माओवादी)को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए । त्यसपछि गठित सरकारबाट भएको संविधान सभाको निर्वाचनबाट निर्वाचित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।
गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहनेछ । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट मार्चपास्ट र विभिन्न सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ ।
दिवसका अवसरमा लोकतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरिँदैछ ।
आजको कार्यक्रमलाई प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भने सम्बोधन गर्ने छैनन् । गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिन उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्राचार गरिसकेका छन् ।
यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो । तर, यसपटक संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई सम्बोधन गर्न भनी पत्राचार गरिएको छ ।