राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३
२०८३ भदौ ११ काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी प्रारम्भिक उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा लैजाने निर्णय गरेको छ ।
गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौं ल्याउने तयारी गरिएको छ ।
घाइतेको अवस्था अनुसार प्राथमिकता निर्धारण गरी उद्धार तथा उपचार अघि बढाइने प्राधिकरणले जनाएको छ ।
यसैगरी, बाढी प्रभावित नागरिकका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ ।
प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति, स्वास्थ्य टोली र स्रोतसाधन परिचालन गर्ने तयारी समेत गरिएको छ ।