राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १२ भाद्र, २०८३
२०८३ भदौ १२ काठमाडौँ । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । यो सूचना गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत पुष्टि गरेको छ ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो ।
प्रहरीले एक आपतकालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशुली नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ ।