बिहीबार, ८ आश्विन, २०८३

माथिल्लो त्रिशूली-१ को सुरुङबाट १३ शव निकालियो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २ आश्विन, २०८३

माथिल्लो त्रिशूली-१ को सुरुङबाट १३ शव निकालियो

२०८३ असोज ०२ काठमाडौँ I भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारमध्ये १३ जनाको शव शुक्रबार फेला परेको छ ।

सेनाका अनुसार सुरूमा अडिट-३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका थिए। फेरि खोजीका क्रममा थप ७ वटा शव फेला परेको हो ।

सेनाका अनुसार ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट शवहरू बाहिर निकालिएको हो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ठूलो संख्याका कामदार सम्पर्कविहीन भएका थिए ।

आयोजनाका अनुसार बाढी आउनुअघि त्यहाँ १ हजार ४३३ जना कामदार कार्यरत थिए । तीमध्ये ९३६ जना सम्पर्कमा आएका छन् भने ४९२ जना अझै सम्पर्कविहीन रहेको सेनाले जनाएको छ ।

सम्पर्कविहीन कामदारको खोजीका लागि सुरुङ तथा आयोजनाका विभिन्न संरचनामा उद्धार टोली परिचालन गरिएको छ । बाढीले सुरुङ तथा आयोजनाका संरचनामा पुर्‍याएको क्षतिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

यसैबीच त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

advertisement_1676998982.gif