राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ जेष्ठ, २०८३
२०८३ जेष्ठ १५, काठमाडौं । आज जेठ शुक्रबार १५ अर्थात् नेपालमा गणतन्त्र स्थापना भएको दिन । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ।
१९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा आयोजित उक्त विशेष समारोहमा देशभक्ति र राष्ट्रिय एकताको अनुपम रौनक देखिएको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष वालेन्द्र शाह (बालेन), प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए ।

त्यसैगरी, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी उपस्थित थिए।
हेलिकप्टरबाट ‘१९औँ गणतन्त्र दिवस’ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टिसँगै समारोहको औपचारिक सुरुवात गरिएको थियो ।
समारोहको मुख्य आकर्षण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त मार्चपास तथा सैनिक कौशल प्रदर्शन रह्यो । सैनिक ब्यान्डको सुमधुर र देशभक्तिपूर्ण धुनका बीच सुरक्षा निकायका जवानहरूले सानदार कला प्रदर्शन गरेका थिए । सेनाले प्रस्तुत गरेको विभिन्न युद्धकला र मार्चपासले टुँडिखेलमा उपस्थित भद्रभलादमी तथा सर्वसाधारणलाई मन्त्रमुग्ध पारेको थियो ।
समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो भने शहीदहरूको सम्मानमा शोक धुनसँगै सलामी चढाइएको थियो ।
टुँडिखेलमा सुरक्षा निकायका तर्फबाट विभिन्न विपद् व्यवस्थापन र उद्धार कार्यको नमुना प्रदर्शन समेत गरिएको थियो । यसका साथै नेपालको बहुसांस्कृतिक र बहुजातीय पहिचान झल्काउने विभिन्न सांस्कृतिक झाँकी र नृत्यहरू प्रस्तुत गरिएका थिए ।
सातै प्रदेशको प्रतिनिधित्व हुने गरी निकालिएका परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीले नेपालको ‘विविधतामा एकता’ को बलियो सन्देश दिएको थियो ।
.jpg)
समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको बताउँदै यस व्यवस्थाले नागरिकलाई नै शक्तिको अन्तिम स्रोत बनाएको उल्लेख गरे । उनले यो व्यवस्थालाई अझ सुन्दर बनाउन शासकीय चरित्र र आचरणमा सुधार हुनुपर्नेमा जोड दिएका थिए ।
समारोहको अन्त्यमा शान्तिका दूत मानिने सेता परेवा र रङ्गीचङ्गी बेलुनहरू आकाशमा उडाइएको थियो, जसले गर्दा केही बेर टुँडिखेलको आकाश निकै मनमोहक देखिएको थियो । सञ्चारमाध्यमका प्रतिनिधि, तस्बिर पत्रकार र सर्वसाधारणको उल्लेख्य उपस्थितिले टुँडिखेलमा गणतन्त्र दिवसको रौनक साँच्चिकै ऐतिहासिक र उत्सवमय बनेको थियो ।

.jpg)