बुधबार, ७ आश्विन, २०८३

प्रधानमन्त्री राहत कोषमा ५ अर्ब बढी राहत कोषमा जम्मा भएको छ : प्रधानमन्त्री शाह

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ भाद्र, २०८३

प्रधानमन्त्री राहत कोषमा ५ अर्ब बढी राहत कोषमा जम्मा भएको छ : प्रधानमन्त्री शाह

२०८३ भदौ १३ काठमाडौँ । भोटेकोशी बाढीमा फसेकाको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा ५ अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन शाहका अनुसार ९ वटा वाणिज्य बैंकको खाताहरूमा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ  रकम जम्मा भएको हाे । 
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको उनले बताए ।

प्रधानमन्त्री बालेनले सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र आधिकारीक खातामा रकम जम्मा गर्न आग्रह गरेका छन् । 

राहत कोषको पारदर्शितामा जोड दिँदै प्रधानमन्त्री शाहले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम र थप १८ लाख ८ हजार अमेरिकी डलर जम्मा भएको जानकारी दिए । सम्भावित वित्तीय ठगीबाट बच्न सरकारले जारी गरेको आधिकारिक क्युआर कोड र खातामा मात्र सहयोग रकम जम्मा गर्न पनि उनले अपिल गरेका छन् ।

अन्तर्राष्ट्रिय सहयोगतर्फ एशियाली विकास बैंकबाट ५ मिलियन डलर अनुदान र १ लाख ५० हजार डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख डलर र अष्ट्रेलियाबाट १ मिलियन डलर प्राप्त हुने प्रतिबद्धता जनाइएको छ ।

त्यसैगरी भारतबाट ५७.५ टन मानवीय सहायता सामग्री, औषधि तथा २ हजार शव व्यवस्थापन गर्ने ‘एयर टाइट ब्याग’ प्राप्त भइसकेको छ भने चीनबाट थप २ हजार एयर टाइट ब्याग प्राप्त भएको र ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ।

advertisement_1676998982.gif
अन्य समाचार