राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३
२०८३ भदौ ११ काठमाडौँ । रसुवा जिल्लामा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त २०८३ भदौ १० गते राति ११ः०५ बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म ३ हजार ३१८ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् । यस्तै, प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, प्रहरी चौकी स्याफ्रुबेसीका ८ जनामध्ये ५ जना र अस्थायी प्रहरी पोस्ट मैलुङका ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन् ।
त्यस्तै, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् ।
प्राप्त विवरणअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् ।
बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेका शवमध्ये रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ वटा रहेका छन् । बाढीबाट घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २० जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, ग्रिन सिटी अस्पतालमा १ जना, नर्भिक अस्पतालमा ३ जना र त्रिशूली अस्पतालमा ९ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ ।