राष्ट्रिय सन्देश संबाददाता, १५ घण्टा पहिले
२०८३ भदौ ११ काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ । सरकारले प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था गरेको छ ।
प्राप्त सहयोगलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विभिन्न दाताबाट प्राप्त रकम कोषमा दाखिला गर्ने प्रक्रिया अघि बढाएका छन् ।
पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा दाताबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको रकम मात्रै २७ करोड ३३ लाख रुपैयाँ पुगेको जनाइएको छ ।
बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निजी क्षेत्रका कम्पनी तथा संघसंस्थाले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन् । कोषमा योगदान गर्ने दातृ कम्पनीहरूको विवरणसमेत सार्वजनिक गरिएको छ ।
