राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १४ भाद्र, २०८३
२०८३ भदौ १४ काठमाडौँ । रसुवामा आएको बाढीका कारण नेपालले व्यहोरेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ । यस कठिन विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको प्रतिबद्धता चिनियाँ राष्ट्रपति तथा प्रधानमन्त्रीले व्यक्त गरेका छन् ।
प्रधानमन्त्री राहत कोषमा चीन सरकारका तर्फबाट घोषित सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालय पुगेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश सुनाएका हुन् ।
“बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरेका छन् । बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दुःखमा नेपाल एक्लै नभएको र चीन नेपाल तथा नेपाली जनताको साथमा रहेको सन्देश दिइएको छ,” राजदूत माओमिङले बताए ।
भेटका क्रममा चिनियाँ राजदूत माओमिङले अर्थमन्त्री डा. वाग्लेलाई झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरे । साथै, चिनियाँ रेडक्रसका तर्फबाट प्राप्त थप ३ करोड ६ लाख रुपैयाँ बराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि अर्थमन्त्रीलाई सुम्पिए ।
.jpeg)
सहयोग हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको प्राकृतिक प्रलयको सामना दुवै देशले मिलेर गर्ने उल्लेख गरे । चीन सरकारले घोषणा गरेका अन्य आपत्कालीन सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिइयो ।
आइतबार मात्रै दुई वटा चिनियाँ विमानले ५० टन पाल, कम्बल, स्लिपिङ ब्याग, मेडिकल किट र खाद्यान्न काठमाडौँ ल्याइसकेको र थप सहयोग पनि निरन्तर पठाइने राजदूतले जानकारी दिए ।
यस्तै, बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरला नाका हुँदै स्वदेश फर्काउन पहल भइरहेको छ ।