शुक्रबार, १२ भाद्र, २०८३

रसुवा बाढीपछि २८८ जना भारतीय नागरिक सम्‍पर्कविहिन: विदेश मन्त्रालय भारत

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

रसुवा बाढीपछि २८८ जना भारतीय नागरिक सम्‍पर्कविहिन: विदेश मन्त्रालय भारत

२०८३ भदौ ११ काठमाडौँ । बुधबार बिहान नेपालको रसुवा, नुवाकोट र धादिङलगायतका इोत्रमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

यसैबीच, मानसरोवर यात्रा गरिरहेका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन् । एमईएका प्रवक्ता रणधीर जयसवालले बिहीबार सद्गुरुको ईशा फाउन्डेसनको ठूलो समूह पनि हिमाली राष्ट्र नेपालमा अझै सम्पर्कविहीन रहेको बताएका छन् ।

उनले तमिलनाडुका २१ जनाको भने उद्धार गरिएको जानकारी दिए । उनका अनुसार केही भारतीय नागरिक अझै चीनतर्फको क्षेत्रमा अलपत्र परेका छन् । जयसवालले विपद्पछि भारतको सहयोगस्वरूप राहत सामग्री बोकेका दुईवटा विमान नेपाल पठाइएको पनि बताए । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको उनले बताए ।

सम्पर्कविहीन रहेका भारतीय नागरिकबारे विवरण दिँदै जयसवालले भने, ‘पहिलो समूहमा त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गरिरहेका ७३ जना छन् । उनीहरूबारे थप विवरण प्राप्त गर्न काठमाडौंस्थित हाम्रो दूतावास आयोजनाका प्रमुखसँग सम्पर्कमा छ । त्यसपछि सम्राट र फ्लाई एभरेस्ट ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएका तमिलनाडुका क्रमशः ३७ र ४९ जनाका दुई छुट्टाछुट्टै समूह छन् ।

रसुवा जिल्लाको टिमुरेमा सम्राट ट्राभल्सको सहयोगमा यात्रा गरेका पश्चिम बंगालका ३२ जना भारतीय नागरिकको समूह छ । त्यसपछि विभिन्न राज्यका ६१ जना भारतीय नागरिकको एउटा समूह र केरलाका ३३ जना भारतीय नागरिकको अर्को समूह छन् । यी पाँच समूहमा करिब २८८ जना छन् ।’

एमईएले नेपालमा अलपत्र परेकासँग भारतीय कूटनीतिक अधिकारीहरू सम्पर्कमा रहेको जनाएको छ । प्रभावित भारतीय नागरिकको खोजी र उद्धारका प्रयास जारी छन् । विनाशकारी बाढीपछिको आपत्कालीन सहयोग समन्वय गर्न भारतको विदेश मन्त्रालयले नयाँदिल्लीस्थित मुख्यालयमा विशेष नियन्त्रण कक्ष स्थापना गरेको छ ।

नेपालस्थित भारतीय कूटनीतिक नियोगहरूले पनि विशेष हटलाइन सञ्चालनमा ल्याएका छन् र सम्बन्धित राज्य प्रशासनसँग नजिकबाट समन्वय गरिरहेका छन् ।

नेपालका अधिकारीहरूका अनुसार ठूलो आकस्मिक बाढीमा मृत्यु हुनेको संख्या बढेर २५८ पुगेको छ भने २८८ भारतीय नागरिकसहित ९१० जना अझै बेपत्ता छन् । यो पछिल्ला वर्षहरूमा नेपालले भोगेको सबैभन्दा भीषण विपद्मध्ये एक हो ।

प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारलाई सहयोग गर्न काठमाडौंस्थित भारतीय दूतावासले तत्काल सहायता तथा जानकारीका लागि ९७७ ९८५ १३१ ६८०७ र ९७७ ९७० ९१० ७५०० नम्बर सार्वजनिक गरेको छ ।

दूतावासले उद्धार कार्यलाई तीव्र बनाउन नेपालका सम्बन्धित निकायसँग सक्रिय रूपमा सहकार्य गरिरहेको र अलपत्र परेका आफ्ना नागरिकलाई समयमै राहत उपलब्ध गराउन प्रयास जारी रहेको जनाएको छ । नेपाल सरकारसँगको समन्वयमा उद्धार तथा राहतका प्रयासलाई निरन्तर सुदृढ बनाइएको पनि बताइएको छ ।

यसका अतिरिक्त, नेपाल पर्यटन बोर्डले प्रभावितलाई सहयोग गर्न विशेष हेल्पलाइन नम्बर सञ्चालनमा ल्याएको छ । टोल–फ्री नम्बर १२३४, सामान्य हटलाइन ११४४ र पर्यटक प्रहरीको सम्पर्क नम्बर ९८५१२८९४४५ उपलब्ध गराइएको छ ।

सीमापारि अलपत्र परेकाहरूका लागि बेइजिङस्थित भारतीय दूतावासले ००८६ १८५ १४२८ ४९०५ नम्बरको अतिरिक्त हटलाइन उपलब्ध गराएको छ, जुन ह्वाट्सएपमार्फत पनि तत्काल सम्पर्कका लागि प्रयोग गर्न सकिन्छ ।

advertisement_1676998982.gif