राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ३ आश्विन, २०८३
२०८३ असोज ०३ काठमाडौँ I आज असोज ३ गते, देशभर विविध कार्यक्रमका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
संविधान जारी भएको यस विशेष दिनलाई सरकारले राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। यस अवसरमा काठमाडौँ उपत्यकासहित देशका सातै प्रदेश र स्थानीय तहहरूमा विभिन्न औपचारिक तथा जनस्तरीय कार्यक्रमहरूको आयोजना गरिएको छ ।
काठमाडौँमा आयोजना हुने मुख्य समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ ।
प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिकस्तरबाट समेत शुभकामना आदानप्रदान, विचार-विमर्श, प्रभातफेरी र दीप प्रज्वलनजस्ता कार्यक्रमहरू आयोजना गरिएका छन् ।
दिवसका अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा संवैधानिक पदाधिकारीहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, संरक्षण र संस्थागत विकासमा जोड दिएका छन् ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र नागरिकका मौलिक हकलाई संस्थागत गरेको छ ।
संविधान जारी भएको लामो समय भइसक्दा यसका उपलब्धि, कार्यान्वयनको अवस्था र आगामी चुनौतीहरूबारे समेत विभिन्न क्षेत्रमा बहस भइरहेको छ । संविधान दिवसले यसका मूल भावनालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै लोकतन्त्रलाई थप सुदृढ बनाउने संकल्प दोहोर्याउने अवसर प्रदान गरेको छ ।