सोमबार, १४ बैशाख, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्‍दै

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्‍दै

२०८२ चैैैत्र ६, काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको समीक्षा गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयको कारणबारे समीक्षा गर्न बोलाइएको बैठकमा पार्टीका तल्लो तहले पठाएको निर्वाचन समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा तय गरिएको छ । प्रतिनिधिसभा सदस्य चुनावपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले चुनावमा पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले राजीनामा दिएपछि बस्न लागेको बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने तय भएको छ ।

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् । बैठकको मुख्य कार्यसूची सभापति गगनकुमार थापाले दिएको राजीनामा र हालैको निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा रहेको छ। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले निर्वाचनमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

बैठकमा उपसभापति शर्माले निर्वाचनमा व्यहोरेको पराजयबारे प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । धेरै ठाउँबाट विवरण आउन बाँकी रहेकाले अहिले प्रारम्भिक विवरण मात्रै राखिने कांग्रेसले जनाएको छ। केन्द्रीय कार्यालयले यसअघि नै सबै निर्वाचन क्षेत्रमा परिपत्र गरेर हार र जितका प्राविधिक तथा राजनीतिक कारण खुलाएर पठाउन निर्देशन दिइसकेको छ ।

बैठकमा सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेमा चर्को बहस हुने देखिएको छ । शेरबहादुर देउवा पक्षले राजीनामाको पक्षमा दबाब बढाउन सक्ने भए पनि उपसभापति शर्माले भने राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव लैजाने तयारी गरेका छन् ।

बैठकमा समानुपातिकतर्फको सिट बाँडफाँड र नयाँ बन्ने सरकारमा कांग्रेसको भूमिकाबारे पनि छलफल हुने बताइएको छ । कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सहित ३८ सिटमा सीमित भएको छ । सभापति थापा आफैं सर्लाही-४ मा ठूलै मतान्तरले रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग पराजित भए । सिंहले ३५ हजार ६ सय ८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८ सय ३१ मत मात्र ल्याए ।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको १३४ सदस्यीय नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ ।

advertisement_1676998982.gif