बिहीबार, २८ जेष्ठ, २०८३

नेपाली कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ जेष्ठ, २०८३

नेपाली कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

२०८३ जेष्ठ २१, काठमाडौं । पार्टीभित्र संस्थापन र इतर समूहबीचको आन्तरिक विवाद निकै चुलिएका बेला नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको महत्त्वपूर्ण बैठक आज बस्ने भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो १:०० बजेका लागि बैठक बोलाइएको हो । पार्टीभित्र पछिल्लो समय गुटगत असन्तुष्टि, अनुशासनहीनता र नेतृत्वप्रति सार्वजनिक रूपमै आलोचना गर्ने क्रम बढेपछि बस्न लागेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

मुख्यगरी विभिन्न तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको भन्दै दर्ता भएका पुराना उजुरीहरू र पछिल्लो समय विभिन्न नेताहरूले अनुशासन उल्लंघन गरेको भन्दै परेका नयाँ उजुरीहरूमाथि बैठकमा गहन छलफल हुने स्रोतले जनाएको छ ।

पार्टीको आन्तरिक अनुशासन कायम राख्ने, प्राप्त उजुरीहरूको छानबिन गरी आवश्यक कारबाही अघि बढाउने तथा समितिको भावी कार्ययोजना तय गर्ने मुख्य कार्यसूची रहेको छ । बैठकमा देशैभरबाट प्राप्त उजुरीहरूको वर्गीकरण गरी कारबाहीको प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे मुख्य छलफल हुनेछ ।

कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र गुटगत विवादका कारण अनुशासन समितिको भूमिका सधैँ चुनौतीपूर्ण बन्दै आएको छ । एक समूहले अर्को समूहका नेता–कार्यकर्तालाई राजनीतिक प्रतिशोध साध्न अनुशासनको हतियार प्रयोग गर्न खोजेको आरोप लागिरहँदा समितिका सबै सदस्यहरूलाई अनिवार्य रूपमा निर्देशानुसार उपस्थित हुन अनुरोध गरिएको छ ।

advertisement_1680627706.gif