राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १६ मंसिर, २०८१
काठमाडौं, मंसिर १६ । दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर-५ मा कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार धनसिंह कुवर ३७६ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका मानसिंह बडालले ३५८ मत ल्याएका थिए ।
नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लालसिंह कुवरले २५ मत पाएका छन् ।
त्यस्तै रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित भएका छन् ।
उनले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।
त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोतीराम खत्री विजयी भएका छन्।
उनी ५९० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका छन् । यहाँ १ हजार १४६ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह निर्वाचित भएका छन् ।
उनी ३४७ मतका साथ निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धि नेकपा माओवादी केन्द्रका गोरख बहादुर सिंहले ३३२ मत ल्याएका छन्।
त्यहाँ एमालेका डम्बर बहादुर घर्तीले २६२ र राप्रपाका लालबहादुर खत्रीले ८ मत ल्याएका छन् । कुल ९५६ मत खसेकोमा १८ मत बदर भएको थियो।