राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १० असार, २०८२
१० असार २०८२, मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ६३ करोड ५२ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले मंगलबार गाउँ सभामा आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत गरेको बजेट विवरण अनुसार, चालु खर्चतर्फ ४८ करोड ५३ लाख ५४ हजार रुपैयाँ (कुल बजेटको ७६ दशमलव ४ प्रतिशत) र पूँजीगत खर्चतर्फ १४ करोड ९८ लाख ७७ हजार रुपैयाँ (२३ दशमलव ६ प्रतिशन) विनियोजन गरिएको छ ।
अघिल्लो वर्षको तुलनामा यो बजेट करिब १६ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो। चालु खर्चको हिस्सा बढ्दै जाँदा पूँजीगत खर्चको अनुपात अघिल्लो वर्षको तुलनामा घटेको छ ।
वित्तीय स्रोततर्फ हेर्दा संघीय सरकारबाट ४३ करोड ८९ लाख ७८ हजार रुपैयाँ, प्रदेश सरकारबाट १० करोड ५८ लाख २२ हजार रुपैयाँ र आन्तरिक स्रोतबाट ९ करोड ४ लाख ३० हजार रुपैयाँ जुटाउने लक्ष्य राखिएको छ ।