बुधबार, २४ भाद्र, २०८३

आङ्देम्बेले लिए भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३

आङ्देम्बेले लिए भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी

२०८३ भदौ ११ काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट घाइते भई उपचाररत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आङ्देम्बेले बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र ट्रमा सेन्टर पुगेर बाढीमा परी घाइते भएकाहरूलाई भेटेका हुन् ।

उनले उपचाररत घाइतेसँग भेट गरी उनीहरूको स्वास्थ्य अवस्था, उपचारको स्थिति र अस्पतालले उपलब्ध गराइरहेको सेवाबारे जानकारी लिएका थिए ।घाइतेहरूको अवस्था बुझ्दै आङ्देम्बेले विपद्को समयमा उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए । बाढीबाट घाइते भएका नागरिकको जीवनरक्षा र उपचार सरकारको पहिलो प्राथमिकतामा हुनुपर्नेमा उनले जोड दिए ।

उनले घाइतेहरूको उपचारमा आवश्यक पर्ने औषधि, स्वास्थ्य सेवा तथा अन्य व्यवस्थापनमा कुनै समस्या भए तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे ।

आङ्देम्बेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे । उनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा नेपाली कांग्रेस रहेको बताए ।

आङ्देम्बेले उद्धार, राहत र उपचारका लागि सरकारलाई आवश्यक सहयोग गर्न नेपाली कांग्रेस तयार रहेको पनि बताए ।

advertisement_1676551694.gif