बुधबार, २४ भाद्र, २०८३

हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २३ भाद्र, २०८३

हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री

२०८३ भदौ २३ काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् ।

मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए ।

उनले आन्दोलनका क्रममा रगताम्य अवस्थामा रहेका घाइतेलाई अस्पताल पुर्याएको र शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए ।

गुरुङले घाइते जेनजी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए। सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ ।

‘भाइहरू मकहाँ आउनुहुन्छ आशाका सा। कोही हातविना, कोही खुट्टाविना आउनुहुन्छ । देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनी जसरी आशाका साथ मलाई हेर्नुहुन्छ त्यसैले सुत्न पनि डर लाग्छ । कुनै मेरो कुनै कमजोरी पो भइहाल्ने हो कि, एकसय दिनुपर्नेमा ९९ मात्र पो हुने हो कि भन्ने पनि डर लाग्छ । उहाँहरूले जसरी विश्वास गर्नुभएको छ, आफूले सक्ने हरदम प्रयास गरिरहेको छु । म मात्र होइन नेपाल सरकार नै निरन्तर लागिरहेको छ,’ उनले भने ।

उनले वर्तमान परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई नै जाने दाबी गरे ।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने बताए ।

advertisement_1676998982.gif