बुधबार, २४ भाद्र, २०८३

पार्टीभित्र देखिएका समस्याको हल पार्टी कार्यालयकै कोठाभित्र बसेर खोज्नुपर्छ :शर्मा

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ भाद्र, २०८३

पार्टीभित्र देखिएका  समस्याको हल पार्टी कार्यालयकै कोठाभित्र बसेर  खोज्नुपर्छ :शर्मा

२०८३ भदौ ०६ काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र समस्याको हल अदालतको ढोका ढक्ढक्याएर नभई पार्टी कार्यालयकै कोठाभित्र बसेर संवादमार्फत खोजिनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेसद्वारा आयोजित ‘ग्रीन रन’ कार्यक्रमको उद्घाटन गर्दै उपसभापति शर्माले पार्टीको हितका लागि नेता-कार्यकर्ताहरू एकापसमा बसेर खुला छलफल गर्नुपर्नेमा जोड दिए ।

विशेष महाधिवेशनपछि आएको वर्तमान नेतृत्व स्थायी नरहेको उल्लेख गर्दै शर्माले आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सबैलाई आह्वान गरे । महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री लगायत जुनसुकै पदमा प्रतिस्पर्धा गर्न चाहने नेता तथा कार्यकर्ताका लागि ढोका खुला रहेको स्पष्ट पार्दै उनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे ।

यसैक्रममा उपसभापति शर्माले राजनीतिक दलहरूको दायित्व सीमित दायरामा मात्र खुम्चिन नहुने बताए । दलहरूको काम सरकार बनाउने, संविधान निर्माण वा संशोधन गर्ने र चुनाव जित्ने-हार्नेमा मात्र सीमित नरही नागरिकका दैनिक जीवन र पर्यावरणजस्ता सामाजिक मुद्दाहरूसँग पनि जोडिनुपर्ने उनको भनाइ थियो ।

advertisement_1676551646.gif