बिहीबार, १ आश्विन, २०८३

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

२०८३ असोज १ चितवन । बाढीका कारण अठार दिनदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा नयाँ ट्र्याक निर्माण गरी आज बिहानदेखि दुईतर्फी यातायात सेवा पुनः सञ्चालनमा आएको छ ।

गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि करिब १०० मिटर सडक पूरै भासिएर यातायात पूर्ण रूपमा ठप्प बनेको थियो । सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको थियो ।

पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी बुधबार साँझसम्म काम सम्पन्न गरेपछि आजदेखि गाडीहरू नियमित सञ्चालनमा ल्याइएको नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालले जानकारी दिए ।

कृष्णभिरमा सडक खुलेसँगै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा सवारी रोक्ने काम तत्कालका लागि स्थगित गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार दुवैतर्फ रोकिएका सवारीसाधनलाई सहज रूपमा गन्तव्यतर्फ पठाउन यो निर्णय गरिएको हो ।

दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने पृथ्वी राजमार्ग लामो समयसम्म ठप्प हुँदा ठूला सवारीसाधन सञ्चालन हुन नसक्दा संघीय राजधानी काठमाडौंमा एलपी ग्याससहितका अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको थियो । सडक सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारीलाई ठूलो राहत मिलेको छ ।

गत भदौ १० गते भोटेकोशी बाढीपछि बढेको त्रिशूलीमा १४ गते पुनः बाढी आएपछि कृष्णभिरलगायत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भासिएको थियो ।

advertisement_1676551646.gif