राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८३ भदौ ०५ जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो ।
दुर्घटनामा नलगाड नगरपालिका–१० बस्ने २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार रहेका छन् ।
विहिबार साँझ करिब ६:३० बजे नलगाड नगरपालिका ९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
जिप चालक नलगाड नगरपालिका ८ हलचौर बस्ने २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार रहेकोमा खोजतलास गरी रातीनै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
साथै दुर्घटनामा परेको जिप घटनास्थलमै रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।