आईतवार, १७ श्रावण, २०८३

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको मृत्यु, २८ वटा हात्ती मारिए

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

झापामा मानव-हात्ती द्वन्द्वः १६ वर्षमा ८० जनाको मृत्यु, २८ वटा हात्ती मारिए

२०८३ साउन १७, काठमाडौँ । झापामा मानव-हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ । पछिल्लो १६ वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख नथुनी यादवका अनुसार विसं २०६७ असार ३ गतेदेखि विसं २०८३ असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैर नेपालीको मृत्यु भएको अभिलेखमा उल्लेख छ । यो तथ्यांकले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका उनको भनाइ छ ।

कार्यालयका अनुसार २०८० साल सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०८२-८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही रु. १० लाखका दरले राहत उपलब्ध गराइएको प्रमुख यादवले जानकारी दिए। 

अभिलेखअनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात-सात, २०७० मा तीन, २०७१ मा दुई, २०७२ मा चार, २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच-पाँच, २०७५ र २०७६ मा एक-एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म छ जनाको मृत्यु भइसकेको छ । विसं २०६७ देखि हालसम्म १० जना गैर नेपालीको हात्तीको आक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए ।

मानिस मात्र होइन, मानव(हात्ती द्वन्द्वको असर हात्तीमा पनि उत्तिकै परेको प्रमुख यादवले बताए । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जंगली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका उनले जानकारी दिए । 

प्रमुख यादवका अनुसार वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जानु मानव-हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण हुन् । उनले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायसँगको समन्वयमा सचेतनामूलक कार्यक्रम, निगरानी र उद्धारका गतिविधि सञ्चालन भइरहेको बताए । 

advertisement_1676551537.gif